बाबियाचौर, म्याग्दी, २४ कात्तिक ः बेनी नगरपालिका– २ खबरामा जिल्लामै पहिलो पटक ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण भएको छ ।
तरकारी खेतीको पकेट क्षेत्र खबरामा लिफ्ट प्रविधिको आयोजनामार्फत हाँडेभिरस्थित म्याग्दी नदीको किनारबाट पानी तानेर सिँचाइ सुविधा पु¥याइएको हो । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले नयाँ प्रविधिको सिँचाइ आयोजना निर्माण गरेको हो ।
नदी किनारमा इनार खन्ने, पाइप गाड्ने, पोखरी बनाउने र उपकरण खरिद गर्ने काम सकिसकेको यो आयोजना यसै महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो ।
नदी किनारमा बनाइएको इनारबाट २५० मिटर उचाइमा रहेको लभ्लीहिलमा निर्माण भएको रिजर्भ ट्यांकीमा पु¥याइएको हो । योजनाको पूर्वाधार निर्माण र उपकरण खरिदमा हालसम्म रु एघार लाख खर्च भइसकेको छ ।
जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रु दश लाख अनुदान उपलब्ध गराएको थियो । इनारभित्र पसेको बालुवा फालेर आयोजना सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
मर्मत गरी सञ्चालनमा ल्याउन थप रु ५० खर्च हुने अनुमान गरिएको छ । योजनाबाट ४० घरधुरी कृषक लाभान्वित हुने जनाइएको छ । नदी किनारदेखि पाँचसय मिटर लामो ६३ मिलिमिटरको पाइपबाट प्रतिघण्टा १२ देखि १८ हजार लिटर पानी तान्ने क्षमताको समसिवल वेल पम्प जडान गरिएको छ ।
तपाईंको प्रतिकृयाहरू