वाम गठबन्धले जनतामा उत्साह’ः नेता महरा

२४ कार्तिक २०७४, शुक्रबार ०६:०५ मा प्रकाशित

तुलसीपुर (दाङ), २३ कात्तिक  ः नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले वाम गठबन्धले जनतामा उत्साह थपेको बताउनुभएको छ ।

दाङ निर्वाचन क्षेत्र नं ३ मा वाम गठबन्धनले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले अहिलेसम्म वामपन्थी शक्ति एक हुन नसक्दा काँग्रेसले फाइदा लिएको बताउनुभयो ।

दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहनु भएका महराले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न वामपन्थी शक्तिबीच गठबन्धन गरिएको उल्लेख गर्दै “हामी अहिले ऐतिहासिक घडीमा छौँ, यो गठबन्धनलाई भत्काउन ठूलो शक्ति लागिपरेको छ, त्यसको डटेर सामना गर्नोस्,” भन्नुभयो ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा क्षेत्र नं २ का प्रदेश(क) का उमेदवार शंकर पोख्रेलले वामपन्थी गठबन्धन देखेर काँग्रेस अत्तालिएको बताउनुभयो ।

माओवादी केन्द्रका नेता जीवन गौतम, रामजी चौधरी, कुवेर वली तथा एमाले नेता घनश्याम पाण्डे, टीकाराम खड्का, कोमल वलीलगायतले वाम गठबन्धनलाई सहयोग गर्न आह्वान गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा उहाँले एमालेका नेताहरु गठबन्धन गरेर पछुताइरहेको छ भन्नुभयो । नेता साउदले “एमाले र माओवादी केन्द्रले काँग्रेससित डराएर गठबन्धन गरी निर्वाचनमा भाग लिए”, भन्दै “दुई कमजोर मिले पनि बलियोलाई हराउन सक्दैनन्,” बताउनुभयो । एमालेलाई माओवादी केन्द्रले भोट दिएर ठूलो पार्टी बनाए माओवादी केन्द्रको अस्तित्व समाप्त हुन्छ, उहाँले भन्नुभयो – “बितेको चार वर्षमा कञ्चनपुरको बजेट चार सय प्रतिशतले बढेको र काँग्रेस नेतृत्वको आगामी सरकारले कञ्चनपुरमा सडक, पुल, खानेपानी लगायतका भौतिक संरचनाको विकासमा विशेष प्राथमिकता दिइनेछ ।” नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले आसन्न निर्वाचनमा काँग्रेस हारे राष्ट्रिय एजेण्डा हार्ने बताउँदै संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि काँग्रेसलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मुलुककै आवागमन र व्यापारको मुख्य नाकाका रुपमा विकास गर्न आफू लागिपरेको चर्चा गर्दै कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकाग गर्न आवश्यक प्रक्रियाहरु अघि बढिसकेकोसमेत जानकारी दिनुभयो ।